
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन व्रत बस्दा धन, पुत्र तथा विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। साथै, भगवान विष्णुकी पत्नी माता लक्ष्मीको समेत पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ। पहिलो बिहीबार अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ।

व्रत बस्ने व्यक्तिले बिहान स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्ने परम्परा छ। त्यसपछि पहेँलो फूल र चन्दन प्रयोग गरी भगवान विष्णुको पूजा गरिन्छ। तयार गरिएको प्रसाद भगवानलाई अर्पण गरी विधिपूर्वक पूजा तथा आराधना गर्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार यो व्रत कम्तीमा सात महिना वा १३ महिनासम्म निरन्तर गर्नुपर्छ। व्रतका दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्ने परम्परा रहेको छ। वृहस्पति र विष्णुको आराधनाले घरमा सुख, समृद्धि र शान्ति कायम हुने विश्वास गरिन्छ।






























