
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश भूभागमा बदली भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा अन्य प्रदेशका केही पहाडी र तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





























