देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

Image
Nisarga Hospital

आज असोज १ गते देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजा–आराधना गरी भगवान् विश्वकर्माको पूजा मनाइँदैछ। समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको धार्मिक विश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ।

CP Hospital Dhangadhi

विश्वकर्मा पूजाका अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीले आफ्ना मेसिनरी सामान, औजार तथा उपकरण सफा गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ। नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनको समेत पूजा गर्नेहरू विभिन्न शक्तिपीठमा पुग्ने गरेका छन्।

धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ। पौराणिक कथनअनुसार उनले स्वर्गलोक, लंका, द्वारिका तथा विभिन्न देवताका अस्त्र–शस्त्र निर्माण गरेका थिए। कृष्णको द्वारका, पाण्डवको मयसभा तथा देवताका हातहतियार पनि विश्वकर्माले नै निर्माण गरेको धार्मिक विश्वास छ।

nawajiwan
Attariya Hospital

विश्वकर्माको महिमा ऋग्वेदका विभिन्न ऋचामा समेत वर्णन गरिएको पाइन्छ। सृष्टि र सिर्जनात्मक कर्मसँग जोडिएका विश्वकर्माको आराधना गर्दा सीप, दक्षता, कार्यकुशलता र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। कार्यक्षेत्रमा आइपर्ने बाधा–अड्चन हट्ने तथा काममा सफलता मिल्ने जनविश्वासका कारण विशेषगरी प्राविधिक तथा निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरूले यो दिनलाई महत्त्वका साथ मनाउने गर्छन्।

पौराणिक कथाअनुसार विश्वकर्माले द्वापरयुगमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको उल्लेख छ। यस्तै, वाराणसीका एक कुशल रथकार दम्पतीले विश्वकर्माको पूजा गरेपछि धन–धान्य र सन्तान प्राप्त गरेको कथासमेत प्रचलित छ। यही धार्मिक विश्वासका आधारमा आज श्रद्धापूर्वक विश्वकर्माको पूजा गरी कार्यक्षेत्रमा सफलता, सीप र समृद्धिको कामना गरिन्छ।