
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशन, बडिमालिका र खप्तडको योजनाबद्ध विकासमार्फत आर्थिक समृद्धिको आधार तयार गर्न सकिने बताएका छन्।

बिहीबार टीकापुरमा रामारोशन विकास केन्द्रको प्रथम साधारणसभाको उद्घाटन गर्दै शाहले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई स्थानीय जनताको आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताए। पूर्वाधार निर्माण, प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परा र संस्कारको संरक्षण तथा संवद्र्धनमा जोड दिए। राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव कायम राख्दै विकासका गतिविधिलाई अघि बढाउनुपर्ने उनले बताए।


सुदूरपश्चिमको पहिचान र सम्भावनासँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार, स्थानीय तह, समुदाय र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको शाहले उल्लेख गरे।
रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेशकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउँदलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।






























