
कृष्णपुर: सुदूरपश्चिमको मौलिक धर्म, संस्कृति, परम्परा तथा देउडा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बन्धुनी विशेष देउडा सांस्कृतिक कार्यक्रममा धर्मगुरु सुरेश सनातनी आर्य सम्मानित भएका छन्।

दियालो कृषि समूहद्वारा आयोजित विशेष कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले धर्मगुरु सुरेश सनातनी आर्यलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन्।
सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने बन्धुनी पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा धर्मगुरु आर्यले धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।

धर्मगुरु सुरेश सनातनी आर्य सनातन धर्म, संस्कार, संस्कृति तथा सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, कला तथा परम्परासँग जोड्ने अभियानमा उहाँले गर्दै आएको कार्यलाई सम्मानका क्रममा स्मरण गरिएको थियो।
कार्यक्रममा देउडा गीत–संगीत, मौलिक कला तथा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। बन्धुनी पर्वलाई धार्मिक आस्थासँगै सुदूरपश्चिमको मौलिक पहिचान, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण पर्वका रूपमा संरक्षण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

सम्मान ग्रहण गर्दै धर्मगुरु सुरेश सनातनी आर्यले आफ्नो मौलिक धर्म, संस्कार र संस्कृति भावी पुस्तासम्म पुर्याउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे। उनले देउडा लगायत सुदूरपश्चिमका मौलिक सांस्कृतिक परम्पराको संरक्षणका लागि समुदाय, युवापुस्ता र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा नगरप्रमुख हेमराज ओझाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए। धार्मिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नु समाजमा सकारात्मक संस्कारको विकास गर्ने माध्यमसमेत भएको उनको भनाइ थियो।
दियालो कृषि समूहको आयोजनामा सम्पन्न बन्धुनी विशेष देउडा कार्यक्रमले स्थानीय कलाकार, संस्कृतिकर्मी, धर्मगुरु तथा समुदायलाई एउटै थलोमा जोड्दै सुदूरपश्चिमको मौलिक देउडा संस्कृति र परम्पराको संरक्षणमा थप ऊर्जा दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, संस्कृतिकर्मी, कलाकार, धर्मप्रेमी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।






























