
रमेश बहादुर सिंह/ बझाङ: राष्ट्रिय बाल दिवसको अवसरमा बालमन्दिर आधारभूत विद्यालयले बाढीपीडितका लागि आर्थिक सहयोग गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयले ६२औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको अन्तरसदन हाजिरीजवाफ, हिज्जे तथा विभिन्न खेलकुद प्रतियोगिताबाट प्राप्त पुरस्कार रकम र विद्यालयमा गठित बाल क्लबको नेतृत्वमा विद्यार्थीहरूबाट संकलन गरिएको रकमलाई एकीकृत गरी कुल ३६ हजार १० रुपैयाँ सहयोग गरेको हो।
भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका विद्यार्थी, शिक्षक तथा प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।


विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहका अनुसार बाल क्लबका पदाधिकारीहरूको सक्रियतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट सहयोग संकलन गरिएको थियो। बालबालिकामा सामाजिक सेवा, मानवीय संवेदना तथा सहयोगी भावनाको विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।
प्रधानाध्यापक सिंहले बाल दिवसलाई केवल मनोरञ्जन र उत्सवमा सीमित नराखी बालबालिकामा सामाजिक जिम्मेवारी, मानवीयता र सेवाभाव विकास गर्ने अवसरका रूपमा अघि बढाउन विद्यालयले यस्तो अभियान सञ्चालन गरेको बताउनुभयो।
बाल क्लबको नेतृत्वमा विद्यार्थीहरूले देखाएको सक्रियता र सहयोगी भावना समुदायका लागि समेत प्रेरणादायी बनेको विद्यालयको भनाइ छ। विद्यालय प्रशासनले सहयोगमा सहभागी विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीको नेतृत्व र सहभागितामा सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।






























