
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज अधिकांश क्षेत्रमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बादल लागेको छ।

हाल बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।


तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।
आज राति पनि कोशीसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।






























