
धनगढीः कैलालीमा प्रहरीले ३१ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली गरी ल्याइएको अवैध सामानसहित भारतीय मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो भारतीय नम्बर प्लेटको मिनी ट्रकमा ल्याइएका २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब तथा घाँस काट्ने मेसिन बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीबाट खटिएको संयुक्त टोलीले ट्रकसहित भारतको लखिमपुर खिरीका ३८ वर्षीय चालक चन्द्रकुमार बर्मालाई नियन्त्रणमा लिएको हो।


यस्तै, कैलालीका विभिन्न स्थानबाट प्रहरीले थप पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बेवारिसे अवस्थामा बरामद गरिएका सामानमा पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, विद्युतीय सामग्री तथा विभिन्न किराना सामान रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको मिनी ट्रक, अवैध सामान र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगर पठाइएको छ। पछिल्लो समय सीमा नाका हुँदै भन्सार छली गरेर विभिन्न वस्तु नेपाल भित्र्याउने क्रम बढेपछि प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।






























