
कैलालीको धनगढीमा हाइसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गएराति भएको दुर्घटनामा धनगढी चटकपुरका कालु रानाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुप प्र०१००१ ज १५८० नम्बरको हाइसले पैदल हिँडिरहेका रानालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकले राति ११ः१० बजे उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि हाइससहित चालक फरार भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले चालकको खोजी थालेको थियो। खोजीका क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न हाइससमेत धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























