
अमेरिका–इरान द्वन्द्वबीच मध्यपूर्वबाट तेल आपूर्तिको चिन्ता केही कम भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। साउदी अरेबियाले पाइपलाइनमा भएको क्षतिपछि एसियाली रिफाइनरहरूलाई वैकल्पिक मार्गबाट तेल आपूर्ति सुरु गरेपछि बजारमा दबाब केही कम भएको हो।

शुक्रबार ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब १०३ डलर तथा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) करिब १०१ डलरमा कारोबार भइरहेको थियो। दुवैको मूल्य यसै साता करिब ११० डलरसम्म पुगेको थियो।
साउदी अरेबियाले ओमानको सोहर बन्दरगाह नजिक खाडीबाहिर जहाजबाट जहाजमा तेल सार्दै एसियाली रिफाइनरहरूलाई थप कच्चा तेल उपलब्ध गराउन थालेको रिपोर्ट सार्वजनिक भएपछि आपूर्ति संकटको चिन्ता केही कम भएको हो। साउदीको पूर्व–पश्चिम पाइपलाइनमा भएको क्षति मर्मतको कामसमेत जारी रहेको बताइएको छ।


यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक भए पनि आफूले आवश्यक ठानेका सर्त स्वीकार गर्न तयार नरहेको बताएका छन्। उनले इरानसँग राम्रो सम्झौता नभए कुनै सम्झौता नगर्ने बताएका छन्। ट्रम्पले इरानी अधिकारीहरूसँग प्रत्यक्ष कुराकानी भएको दाबी गरे पनि तेहरानले त्यसको पुष्टि गरेको छैन।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुज जलमार्गमा टोगोको झण्डा भएको तेल ट्यांकरमाथि प्रहार गरेको जनाएको छ। घटनाले महत्त्वपूर्ण तेल ढुवानी मार्गमा थप जोखिम बढाएको छ।






























