
काठमाडौंको जडीबुटीमा शुक्रबार भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा.९३ प ७६७८ नम्बरको मोटरसाइकलमा सवार ३९ वर्षीया कार्कीलाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।
दुर्घटनामा कार्कीसँगै मोटरसाइकलमा सवार उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। काभ्रेको तेमाल गाउँपालिका–४ निवासी कँडेलको अवस्था र उपचारबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।


प्रहरीका अनुसार कार्की र उनका श्रीमान् भक्तपुरतर्फ जाँदै गर्दा जडीबुटी क्षेत्रमा दुर्घटना भएको हो। मृतक कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।






























