
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार चक्रबहादुर खड्कालाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खड्कालाई ‘Best Police of the Month’ को सम्मान प्रदान गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।
प्रहरी सेवामा जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा कार्यसम्पादनका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको आधारमा खड्कालाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


कार्यालयका अनुसार खड्काले आफ्नो जिम्मेवारीप्रति उच्च अनुशासन, इमानदारी र लगनशीलता प्रदर्शन गर्दै प्रहरी सेवामा उल्लेखनीय योगदान दिएका छन्। अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई सम्मान गरिएको हो।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने उक्त सम्मानले खड्काको सेवाप्रति थप हौसला बढाउने विश्वास गरिएको छ।






























