
कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा प्रस्तावित दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको कामले एक दशकपछि गति लिने भएको छ। सरकारले २०७२ सालमा चार किल्ला निर्धारण गरी औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो।

राष्ट्रिय वन क्षेत्र प्रयोगसम्बन्धी प्रक्रियागत अल्झनका कारण लामो समयदेखि रोकिएको आयोजनाका लागि हालै मन्त्रिपरिषद्ले वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि निर्माणको बाटो खुलेको हो। दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीका अनुसार अब रुख कटान र भोगाधिकारसम्बन्धी समस्या हटेको छ।
औद्योगिक क्षेत्रका लागि १३६ दशमलव ५९ हेक्टर अर्थात् करिब २०२ बिघा जग्गा प्रस्ताव गरिएको छ। यसअघि ३४५ बिघा क्षेत्रफलमा आयोजना बनाउने प्रस्ताव थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।


२०७९ फागुनमा बेदकोट–२ मा सम्पर्क कार्यालय स्थापना भए पनि कर्मचारी अभावमा कार्यालय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। चालु वर्ष पहुँच मार्ग निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले अब निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताए। औद्योगिक क्षेत्र सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै सुदूरपश्चिममा औद्योगिक तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। बेदकोट–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले पनि यसबाट स्थानीय नागरिकले रोजगारीको अवसर पाउने बताए।






























