
रसुवाको मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक हवलदार हिक्मत महराको शनिबार प्रतीकात्मक अन्त्येष्टि गरिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसाड पुख्र्यौली घर भएका महरा पछिल्लो समय कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटमा परिवारसहित बस्दै आएका थिए। उनी २०८३ भदौ १० गते रसुवास्थित मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका थिए।
बाढीपछि लामो समयसम्म खोजी तथा उद्धार प्रयास गरिए पनि महराको अवस्था पत्ता लाग्न सकेको छैन। शव फेला नपरेपछि परिवारले हिन्दु संस्कारअनुसार कुश र काँसबाट प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो।

परिवारका अनुसार बास्कोटस्थित निवासबाट शनिबार बिहान ८ बजे प्रतीकात्मक शवयात्रा सुरु गरिएको थियो। शवयात्रा गोदावरीस्थित आर्यघाट पुगेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा महराका आफन्त, शुभचिन्तक तथा स्थानीयको सहभागिता रहेको थियो।

महरासहित भोटेकोशी बाढीपछि सुदूरपश्चिमका चार जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीका हवलदार नरेन्द्रप्रसाद भट्ट, सहायक हवलदार हिक्मत महरा र प्रहरी जवान नारद सार्की तथा सशस्त्र प्रहरी जवान बिनिता बोहरा बाढीपछि सम्पर्कविहीन भएका हुन्।
भोटेकोशी बाढीका क्रममा रसुवामा कार्यरत ठूलो संख्याका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका थिए। प्रहरीको विवरणअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी बाढीपछि सम्पर्कविहीन भएका थिए।
महराको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारले धार्मिक परम्पराअनुसार प्रतीकात्मक अन्त्येष्टि गरेको हो। शव फेला नपरे पनि परिवारले संस्कार पूरा गर्दै अन्तिम बिदाइ गरेको जनाएको छ।






























