
कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समिति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर–४ को संयुक्त कार्यालय सञ्चालनमा आएको छ। शनिबार गोदावरी नगरपालिका–२, लोटस गल्लीस्थित पार्टी कार्यालयको प्रतिनिधिसभा सदस्य तथा कैलाली–४ का सांसद खेमराज कोइराला र रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टको विशेष उपस्थितिमा उद्घाटन गरिएको हो।

उद्घाटनका क्रममा कोइराला र विष्टले पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाउँदै संयुक्त कार्यालय सञ्चालनको घोषणा गरेका थिए। कार्यालय उद्घाटनअघि गोदावरी नगर समितिका सभापति आशिष् धामीको सभाध्यक्षतामा होटल नमस्तेको सभाहलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
नयाँ कार्यालय सञ्चालनमा आएसँगै गोदावरी नगर समिति र कैलाली निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गतका पार्टीका गतिविधि तथा संगठनात्मक कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने रास्वपाले जनाएको छ।


स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा गतिविधिलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको बताइएको छ। कार्यालयमार्फत स्थानीयस्तरका पार्टी गतिविधि, बैठक, छलफल तथा संगठनात्मक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
रास्वपाले स्थानीय तहदेखि निर्वाचन क्षेत्रसम्म पार्टीका गतिविधिलाई व्यवस्थित बनाउन कार्यालयलाई आधारका रूपमा प्रयोग गर्ने जनाएको छ। संयुक्त कार्यालय सञ्चालनसँगै गोदावरी नगरपालिका क्षेत्र र कैलाली–४ मा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय बनाउने उद्देश्य राखिएको बताइएको छ।






























