
कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी लैजाँदै गरिएको १४.३५ क्यूफिट सालको काठसहित एक जना पक्राउ परेका छन्।

शनिबार राति वनबाट चोरी गरी ल्याइएको ७.७९ र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठसहित जानकी गाउँपालिका–८ भगरैयाका सर्वन चौधरी पक्राउ परेका हुन्। काठ ओसारपसारमा प्रयोग गरिएका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

वन उपभोक्ता समूह, स्थानीय युवा क्लब र सब–डिभिजन वन कार्यालय लम्कीको संयुक्त टोलीले राति गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको बल्चौर चोक नजिकै राति २ः५५ बजे काठ लोड गरिएका मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न अर्का एक जना भने फरार छन्। बरामद काठ र मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा बुझाइएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ भने घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान जारी रहेको वन कार्यालयले जनाएको छ।






























