फाप्लामा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप सुरु, पहिलो दिन चैतन्य पाठशाला र सु.प. ब्वाइज होस्टेल विजयी

Image
Nisarga Hospital

लोकराज जोशी/असोज ४
धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०८३ औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न हुँदा चैतन्य पाठशाला र सुदूरपश्चिम ब्वाइज होस्टेलले विजयी सुरुवात गरेका छन्।

CP Hospital Dhangadhi

प्रतियोगिताको उद्घाटन समारोह कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’
को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवासविक्रम शाही, धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला राना, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउँद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह, धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य रुपेन्द्र धामी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य रमेशबहादुर चन्द, सल्लाहकारद्वय धर्मराज जोशी र सतिस जोशीलगायत विभिन्न क्षेत्रका अतिथि तथा क्रिकेटप्रेमीहरूको सहभागिता रहेको थियो।

nawajiwan

पहिलो खेलमा चैतन्य पाठशालाको शानदार जित
प्रतियोगिताको पहिलो खेलमा धनगढी स्पोर्टस क्लब र चैतन्य पाठशालाबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर धनगढी स्पोर्टस क्लबले चैतन्य पाठशालालाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

पहिले ब्याटिङ गरेको चैतन्य पाठशालाले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो। टोलीका लागि किरणकुमार ठगुन्नाले १२ बलमा २० रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे। कप्तान वसन्तसिंह कार्कीले ११ बलमा १४ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे। त्यस्तै मिलन बोहराले १३ बलमा १४ रन तथा नरेन्द्र रानाले ७ बलमा १३ रन बनाए।

धनगढी स्पोर्टस क्लबका बलरमध्ये शिशिर थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट, सञ्जय थापाले २ ओभरमा १ मेडेनसहित ६ रन खर्चेर २ विकेट तथा सुरेन्द्र पन्तले १ ओभरमा १० रन खर्चेर २ विकेट लिए।

९५ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस क्लबले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। टोलीका लागि यशकुमार कठायतले ९ बलमा २० रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे।

चैतन्य पाठशालाका बलर विरेन्द्र वमले २ ओभरमा १० रन खर्चेर २ विकेट तथा मिलन बोहराले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए।

यससँगै चैतन्य पाठशालाले धनगढी स्पोर्टस क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका चैतन्य पाठशालाका मिलन बोहरा प्लेयर अफ दी म्याच घोषित भए।

Attariya Hospital

दोस्रो खेलमा सु.प. ब्वाइज होस्टेलको फराकिलो जित
पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम ब्वाइज होस्टेल र घटाल लायन्स श्रीनगर युथ क्लब आमनेसामने भए। टस जितेर सुदूरपश्चिम ब्वाइज होस्टेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

ब्वाइज होस्टेलले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै १०३ रनको बलियो योगफल तयार गर्‍यो। टोलीका लागि क्रीश ऐरले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४३ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै दिनेश ओडले १० बलमा १२ रन तथा सुमीत बुडालले ८ बलमा ११ रन बनाए।

घटाल लायन्स श्रीनगर युथ क्लबका बलरमध्ये दिपक टमटाले २ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए भने मनसुन सिंहले २ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारे।

१०४ रनको लक्ष्य पछ्याएको घटाल लायन्स श्रीनगर युथ क्लबले ७.३ ओभरमै सबै विकेट गुमाउँदै ५२ रनमा सीमित भयो। टोलीका लागि निर्मल गुरुङले ६ बलमा अविजित १३ रन बनाए। उनले २ छक्का प्रहार गरे। वसन्त भट्टले १२ बलमा ११ रन बनाए।

सुदूरपश्चिम ब्वाइज होस्टेलका बलर निरज ऐरले २ ओभरमा १३ रन खर्चेर ३ विकेट, नागराज सिंहले २ ओभरमा १० रन खर्चेर २ विकेट तथा कप्तान दिपक रोकायाले १.३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।

उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाएका क्रीश ऐर प्लेयर अफ दी म्याच घोषित भए।

पहिलो दिनका दुवै खेलमा उत्कृष्ट प्रतिस्पर्धा देखिएको आयोजकले जनाएको छ। फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय स्तरको टी–१० प्रतियोगिता आयोजना भएपछि स्थानीय खेलाडी तथा क्रिकेटप्रेमीमा थप उत्साह देखिएको छ। छोटो ढाँचाको क्रिकेट भएकाले खेलमा आक्रामक ब्याटिङ, तीव्र बलिङ र रोमाञ्चक प्रतिस्पर्धा देखिने अपेक्षा गरिएको छ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताले सुदूरपश्चिममा क्रिकेटको विकाससँगै स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।