
देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।
बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोले यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेष व्यवस्था लागू गरिएको छ। उक्त खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द रहने तथा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।


रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी–८ स्थित घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर–१० सिमटारमा बाढी आएपछि पासाङल्हामु सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङको पृथ्वी राजमार्गमा भने पहिरो हटाएपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। सडक विभाग र प्रहरी टोलीले अवरुद्ध सडक खुलाउन निरन्तर काम गरिरहेका छन्।






























