
उत्तरी सिरियाको अलेप्पो प्रान्तस्थित अल–ऐस शहरमा सोमबार बिहान लगातार विस्फोट भएका छन्। सिरियाली सरकारी टेलिभिजन अल–इखबारियासहित स्थानीय सञ्चारमाध्यमले शहरमा धेरै विस्फोट भएको जनाएका छन्।

बीबीसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयअन्तर्गतको हतियार डिपोमा विस्फोट भएको जनाएको छ। घटनापछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायले विस्फोटको कारण र क्षतिको विवरण संकलन गरिरहेका छन्।

हालसम्म विस्फोटमा मानवीय क्षति वा कोही घाइते भएको आधिकारिक पुष्टि भएको छैन। यद्यपि, केही स्थानीय स्रोत तथा सञ्चारमाध्यमले विस्फोट इजरायली हवाई आक्रमणका कारण भएको हुनसक्ने आशंका गरेका छन्। उक्त दाबीको भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

रिपोर्टअनुसार विस्फोट भएको भनिएको हतियार डिपो टर्की–समर्थित समूहका लागि हतियार भण्डारण गर्न प्रयोग हुँदै आएको थियो। घटनाको वास्तविक कारण र क्षतिको विवरणबारे थप अनुसन्धान तथा आधिकारिक जानकारीको प्रतीक्षा भइरहेको छ।






























