
सुदूरपश्चिम प्रदेश सरकारले असोज दोस्रो साताभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी अघि बढाएको छ। मुख्यमन्त्री खगराज भट्टले अब बजेट ल्याउन थप ढिलाइ गर्ने अवस्था नरहेको बताएका छन्।

मुख्यमन्त्री भट्टका अनुसार यसअघि भदौ मसान्तभित्रै बजेट ल्याउने तयारी गरिए पनि विभिन्न राजनीतिक सन्दर्भ मिलाउन समय लाग्दा प्रक्रिया लम्बिएको हो। आर्थिक मामिला मन्त्रालयले बजेट निर्माणसम्बन्धी मार्गनिर्देशन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ। अब असोज ७ गतेदेखि प्रदेशसभा सदस्यहरूबाट योजना सिफारिस माग्ने तयारी भइरहेको मुख्यमन्त्रीले बताएका छन्।
सरकारले आगामी तीन–चार दिनभित्र बजेट निर्माणसँग सम्बन्धित अधिकांश काम पूरा गर्ने अपेक्षा गरेको छ। त्यसपछि योजना छनोट, प्राथमिकता निर्धारण तथा आवश्यक प्रक्रिया अघि बढाएर बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी छ।


सुदूरपश्चिम प्रदेश चालु आर्थिक वर्षको सुरुदेखि नै बजेटविहीन अवस्थामा छ। बजेट पारित हुन नसक्दा प्रदेश सरकारका नियमित विकास तथा खर्चसम्बन्धी गतिविधि प्रभावित हुँदै आएका छन्।
मुख्यमन्त्रीले राजनीतिक विषयहरू मिलाइएको दाबी गरे पनि सरकारभित्र केही महत्वपूर्ण विषय अझै टुंगिन बाँकी रहेको सरकारसम्बद्ध पदाधिकारीहरू बताउँछन्। विशेषगरी बजेटको कुल आकार कति हुने, प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनाका लागि अघिल्लो सरकारले निर्धारण गरेको पाँचदेखि सात करोड रुपैयाँसम्मको सीमालाई निरन्तरता दिने वा घटाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ।
त्यस्तै, विभिन्न मन्त्रालयमा सचिव व्यवस्थापनको विषय पनि अझै टुंगोमा पुग्न सकेको छैन। यी विषयमा सहमति जुटाउँदै सरकारले असोज दोस्रो साताभित्र बजेट प्रस्तुत गर्ने लक्ष्य लिएको छ।






























