
असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि केही मौसमविद्ले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलको अध्ययन गर्दा केही स्थानमा अत्यधिक वर्षाको सम्भावना देखिएको बताएका छन्। केही मोडलले ४०० मिलिमिटरभन्दा बढी, कतिपयले ७४१ मिलिमिटरसम्म वर्षा देखाएको उनको भनाइ छ। यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा केन्द्रित हुन सक्ने भएकाले यसलाई अन्तिम पूर्वानुमानका रूपमा लिन नहुने उनले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले भने मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। विभागका अनुसार प्रणालीको दिशा, गति र शक्ति अझै परिवर्तन हुन सक्ने भएकाले नेपालमा पर्ने प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन। आगामी दिनमा प्रणालीको विकासक्रम स्पष्ट हुँदै जाने विभागको भनाइ छ।


मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीचको अन्तरक्रिया बलियो भए वर्षाको मात्रा बढ्न सक्छ। विशेषगरी पूर्वदेखि मध्य र पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ।
ठूलो वर्षा भएमा पछिल्लो समय वर्षाका कारण चिस्यान बढेको जमिन र नदी–खोलामा पानीको बहाव बढ्दा बाढी तथा पहिरोको जोखिम थपिन सक्ने मौसमविद्हरूले बताएका छन्। पाक्न लागेको धानबालीमा समेत असर पर्न सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन निकायले पनि मौसमी प्रणालीको निगरानी र पूर्वतयारी अघि बढाइरहेको जनाएको छ। मौसमविद्हरूले अनावश्यक त्रास फैलाउनुभन्दा आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न र आवश्यकताअनुसार यात्रा तथा अन्य गतिविधिको योजना बनाउन सुझाव दिएका छन्।






























