बझाङमा कांग्रेसको वडा अधिवेशन ः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व, बाँकी ५ वडामा आज अधिवेशन हुँदै

Image
Nisarga Hospital

डीवि विष्ट /बझाङः  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बझाङमा वडा अधिवेशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका ९४ वडामध्ये ८६ वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले जनाएको छ ।
जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएसँगै वडा तहमा कांग्रेसको नयाँ नेतृत्व र प्रतिनिधित्वको प्रारम्भिक तस्वीर समेत स्पष्ट भएको छ । अब ८ वटा वडामा अधिवेशन हुन बाँकी रहेको र ती वडामा पनि आज अधिवेशन सम्पन्न गर्ने तयारी रहेको नपाली काँग्रेस बझाङका प्रबत्ता रमानन्द जोशिले जानकारी दिनु भयो ।
बझाङमा वडा तहबाट सुरु भएको अधिवेशन केवल नेतृत्व चयनको नियमित प्रक्रिया मात्र नभई आगामी पालिका, प्रदेश, जिल्ला हुँदै केन्द्रीय महाधिवेशनसम्मको नेतृत्व निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।
९४ मध्ये ८९ वडामा नेतृत्व चयन
बझाङ कांग्रेसको संगठनात्मक संरचनामा रहेका ९४ वडामध्ये ८९ वडामा नयाँ नेतृत्व चयन भइसकेको छ । अब बाँकी थलारा गाउँपालिकाको वडा नम्बर ९, तलकोट गाउँपालिकाको वडा नम्बर ६ र ७ र विथ्थडचिर गाउँपालिकाको २ वटा वडा गरी ५ वटा वडामा अधिबेश हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत भरत कुमार घिमिरेले जानकारी दिनु भयो । उक्त वडाहरुमा पनी अधिबेशन विहान देखी सुरु भै सकेको र अबको केहि समय भित्र नयाँ नेतृत्व चयन हुने तयारीमा रहेको घिमिरेले बताउनु भयो । अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै विधान अनुसार क्षेत्रीय प्रतिनिधिसमेत चयन हुने भएकाले आगामी तहका अधिवेशनमा वडा तहबाट निर्वाचित प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते वडा तहको निर्वाचन प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । विभिन्न कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेका वडामा बाँकी प्रक्रिया असोज ५ गते सञ्चालन गर्ने जानकारीसमेत समितिले दिएको छ ।
बाँकी ५ वडातर्फ सबैको ध्यान
बझाङका ८६ वडामा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा अब बाँकी ५ वडामा हुने अधिवेशनतर्फ जिल्लाको राजनीतिक ध्यान केन्द्रित भएको छ । ती वडाको अधिवेशन सम्पन्न भएपछि बझाङ कांग्रेसको वडा तहको अधिवेशन प्रक्रिया पूर्ण हुनेछ ।
बाँकी वडामा नेतृत्व चयनसँगै जिल्लामा आगामी अधिवेशनका लागि आवश्यक प्रतिनिधित्वको आधार पनि थप स्पष्ट हुनेछ । त्यसपछि कांग्रेसको संगठनात्मक गतिविधि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहको नेतृत्व चयनतर्फ अघि बढ्नेछ ।
वडा अधिवेशनसँगै नेतृत्वको नयाँ समीकरण
वडा तहको अधिवेशनले स्थानीयस्तरमा पार्टीको नेतृत्व कसरी अघि बढ्छ भन्ने संकेतसमेत दिने भएकाले बझाङ कांग्रेसभित्र यसको विशेष महत्व छ । वडा तहमा चयन हुने सभापति, कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूले आगामी अधिवेशनमा प्रत्यक्ष भूमिका निर्वाह गर्नेछन् ।
यसपटकको अधिवेशनमा नेतृत्व चयनसँगै संगठनलाई थप एकताबद्ध र सक्रिय बनाउने विषय पनि चर्चामा छ । बझाङ कांग्रेसका जिल्ला सभापति खडक बोहराले यसअघि वडा अधिवेशन उद्घाटनका क्रममा जिल्लाका ९४ वटै वडा र १२ वटै पालिकाका पार्टी कार्यकर्तालाई एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
अब पालिका हुँदै जिल्ला अधिवेशनतर्फ
वडा अधिवेशन सम्पन्न भएपछि कांग्रेसको अधिवेशन प्रक्रिया क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्ला र प्रदेश तहमा प्रवेश गर्नेछ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
यस अर्थमा बझाङका ९४ वडामा भइरहेको अधिवेशन स्थानीय नेतृत्व चयनको विषयमा मात्र सीमित छैन । यसले जिल्लाबाट प्रतिनिधित्व गर्ने आगामी नेतृत्वको आधारसमेत निर्माण गरिरहेको छ ।
बझाङ कांग्रेसमा ९४ वडामध्ये ८९ वडाको नेतृत्व चयन भइसकेको छ । बाँकी ५ वडामा आज हुने अधिवेशनसँगै वडा तहको तस्वीर पूर्ण हुनेछ । त्यसपछि जिल्लाको कांग्रेस कुन नेतृत्व र कस्तो समीकरणसहित अगाडि बढ्छ भन्ने चासो थप बढ्ने देखिन्छ । यस पटकको अधिबेशन सर्वसम्मत रुपमा अघि बढ्नु पर्ने जोडमा जिल्ला स्थिति नेताहरुको धारणा रहेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital