
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले अनुसन्धानको सुरुवात जटिल विषयबाट नभई सामान्य प्रश्नबाट हुने भएकाले विद्यार्थीले सबैभन्दा पहिले प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा स्थापित सार्क एजुकेसन फाउन्डेसन विद्यालयले आयोजना गरेको ‘सार्क नेशनल रिसर्च कन्फ्रेन्स–०८३’ को समापन समारोहलाई सम्बोधन गर्दै रावलले प्रश्न गर्ने संस्कार नै अनुसन्धानको पहिलो खुड्किलो भएको बताए।
‘किन यस्तो भयो? यसको कारण के हो? यसलाई अझ राम्रो कसरी बनाउन सकिन्छ? यसको प्रमाण के छ?’ जस्ता प्रश्नबाट अनुसन्धानको यात्रा सुरु हुने उनको भनाइ थियो। उनले विद्यार्थीलाई प्रश्न गर्न कहिल्यै नडराउन आग्रह गर्दै सानो, फरक वा शिक्षकलाई तत्काल थाहा नभएको प्रश्न पनि नयाँ ज्ञानको खोजीको आधार बन्न सक्ने बताए।

रावलले राम्रो प्रश्न धेरैपटक छिटो प्राप्त गरिएको उत्तरभन्दा महत्वपूर्ण हुने उल्लेख गरे। विद्यार्थीमा जिज्ञासा, सिर्जनशीलता र आलोचनात्मक सोच विकास गर्न अनुसन्धानमूलक गतिविधि आवश्यक रहेको उनको भनाइ थियो।

कन्फ्रेन्समा विभिन्न विषयमा प्यानल छलफलसँगै विद्यार्थीहरूले आफ्ना खोज तथा अनुसन्धानमूलक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताका विषयमा समेत छलफल गरिएको थियो।
उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पूर्वमुख्यमन्त्री रावलले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग विद्यार्थीको प्रत्यक्ष संवादसमेत गराइएको थियो।
विद्यालयका अनुसार समसामयिक विषयमा विज्ञसँग छलफल गर्दै विद्यार्थीलाई नयाँ विषयको खोजी, आफ्ना धारणा प्रस्तुत गर्ने क्षमता र अनुसन्धानमा आधारित सोच विकास गराउने उद्देश्यले कन्फ्रेन्स आयोजना गरिएको हो।






























