
कैलालीको गौरीगंगा नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अस्थायी टहरा तथा खोका हटाउन ७ दिने सूचना जारी गरेको छ। नगरपालिकाले सोमबार सार्वजनिक गरेको सूचनामार्फत गौरीगंगा–मसुरिया बजार क्षेत्रमा सडक छेउछाउमा अवैधानिक तथा अव्यवस्थित रूपमा बनाइएका अस्थायी संरचना हटाउन सम्बन्धित सञ्चालकलाई आग्रह गरेको हो।

नगरपालिकाका अनुसार सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका टहरा तथा खोकाका कारण सार्वजनिक सडकको व्यवस्थापनमा समस्या देखिएको छ। सडक क्षेत्रलाई व्यवस्थित बनाउने तथा सार्वजनिक सडक अतिक्रमण रोक्ने उद्देश्यले सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित व्यक्ति तथा व्यवसायीले आफ्ना टहरा, खोका लगायतका अस्थायी संरचना आफैँ हटाई सडक क्षेत्र खाली गर्नुपर्नेछ। नगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाए आठौँ दिनदेखि सुरक्षा निकायको समन्वयमा आफैँ हटाउने चेतावनी दिएको छ।


नगरपालिकाले त्यस्ता संरचना हटाउने क्रममा लाग्ने प्रक्रिया तथा आवश्यक कारबाहीसमेत अघि बढाइने स्पष्ट पारेको छ। नगरपालिकाका अधिकृत चिरराज जोशीद्वारा जारी सूचनामा सडक क्षेत्र सार्वजनिक प्रयोजनका लागि व्यवस्थित र सुरक्षित राख्न सबै सम्बन्धित पक्षले सहयोग गर्नुपर्ने उल्लेख छ।
नगरपालिकाले मसुरिया बजार क्षेत्रका टहरा तथा खोका सञ्चालकलाई नगरपालिकाको सूचनालाई गम्भीर रूपमा लिई तोकिएको समयसीमाभित्र संरचना हटाउन आग्रह गरेको छ।






























