
कञ्चनपुरको दोधाराचाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम तीव्र गतिमा अघि बढेको छ। निर्माण सुरु भएको छ महिनामै बन्दरगाहको करिब २५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ। यही गतिमा काम अघि बढे अबको दुई वर्षभित्र नेपालतर्फका संरचना निर्माण सम्पन्न हुने र भारततर्फका पूर्वाधारसमेत समयमै तयार भए तीन वर्षभित्र बन्दरगाह सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको छ।

३० महिनाभित्र आवश्यक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भारत सरकारको करिब २३७ करोड भारु लागतमा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार बन्दरगाह निर्माणको काम भारतले गरिरहेको छ भने नेपाल सरकारले भ्याट, रोयल्टी लगायतका खर्च व्यहोर्नेछ।

हाल बन्दरगाह क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भन्सार तथा सुरक्षा भवन, क्वारेन्टाइन चेकपोस्ट र मालसामान लोड–अनलोड गर्ने सेड निर्माणको काम एकैसाथ भइरहेको छ। निर्माणाधीन संरचनाको कामले गति लिएसँगै बन्दरगाहको समग्र पूर्वाधार निर्माण पनि अघि बढिरहेको छ।

यता, भारततर्फ पनि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ। बन्दरगाहलाई भारतीय राष्ट्रिय राजमार्गसँग जोड्न पहुँचमार्ग तथा फ्लाइओभर निर्माणको प्रक्रिया अघि बढाइएको छ। भारतले बन्दरगाहतर्फका थप संरचना निर्माणका लागि करिब ५०० करोड भारु लागत अनुमानसहित टेन्डरसमेत आह्वान गरेको छ। दुवैतर्फका पूर्वाधार समयमै सम्पन्न भए बन्दरगाह सञ्चालनमा ल्याउन सहज हुने अपेक्षा गरिएको छ।






























