
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा–१ मा पूर्णबहादुर देउवा वडा सभापति बनेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन भइरहेको हो।

डडेल्धुराका ५२ वटै वडामा अधिवेशन प्रक्रिया अघि बढेको छ। जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरू सहभागी अधिवेशनमा देउवा पक्षका नेता–कार्यकर्ता भने सहभागी भएका छैनन्। देउवा पक्षले संस्थापन समूहबाट भइरहेको अधिवेशनलाई अलग राख्दै असोज १५ गतेदेखि आफ्नै वडा अधिवेशन गर्ने तयारी गरेको छ।

यसअघि देउवा पक्षले समानान्तर महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

यता, संस्थापन समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर प्रक्रिया अघि बढाएको विवरण सार्वजनिक भएको छ। कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्वलाई लिएर दुई पक्षबीच फरक–फरक अधिवेशन प्रक्रिया अघि बढेको अवस्थामा देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन भएका हुन्।






























