
हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र अहिले मध्यपूर्व बङ्गालको खाडीमा रहेको र आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।


यस्तै, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी र मधेससहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेसका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।






























