
हिन्दू धर्मशास्त्रमा मंगलबार भगवान श्रीगणेशको पूजा, अर्चना तथा व्रत बस्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको उल्लेख पाइन्छ। कुनै पनि शुभ कार्यको सुरुवातअघि गणेशको पूजा गर्ने परम्परा छ। सुख, शान्ति, समृद्धि तथा कार्यसफलताका लागि शुद्ध मनले गणेशको आराधना गर्नु उत्तम मानिन्छ।

धार्मिक मान्यताअनुसार गणेश पूजामा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमा गरिन्छ। पूजा गर्दा एकाग्र मनले संकल्प लिनुपर्ने बताइन्छ।
मंगलबार कुखुरा वा अन्य पक्षीको हत्या, माछा तथा मासु सेवन र मदिरा सेवन गर्न नहुने धार्मिक मान्यता छ। यस्ता कार्यले क्रमशः बुद्धि भ्रमित हुने, आर्थिक नोक्सानी हुने तथा क्रोध बढ्ने विश्वास गरिन्छ।


गणेशलाई लड्डु प्रिय मानिनुको पछाडि मातापिताप्रतिको भक्तिसँग जोडिएको धार्मिक कथा छ। गणेशले सम्पूर्ण तीर्थको भ्रमण गर्न नसकेपछि माता पार्वती र पिता शिवको परिक्रमा गरेका थिए। त्यसबाट मातापिताको पूजा सबै तीर्थ र साधनाभन्दा श्रेष्ठ हुने सन्देश प्राप्त हुने धार्मिक मान्यता छ।
गणेशलाई बुद्धि, ज्ञान र विघ्न निवारणका प्रतीक मानिन्छ। पूजा गर्दा ‘ॐ गं गणपतये नमः’, ‘ॐ सिद्धि विनायकाय नमः’, ‘ॐ गजाननाय नमः’, ‘ॐ एकदंताय नमो नमः’, ‘ॐ वक्रतुंडाय नमो नमः’ लगायतका मन्त्र जप्ने परम्परा रहेको छ।






























