भोटेकोशी बाढीपछि डडेल्धुराका १७ जना अझै सम्पर्कविहीन, परिवारमा बढ्दो चिन्ता

Image
Nisarga Hospital

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रोजगारीका क्रममा रसुवा क्षेत्रमा रहेका डडेल्धुराका १७ जना अझै सम्पर्कविहीन छन्। बाढीपछि सुदूरपश्चिमका १३३ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भए पनि केही व्यक्ति सम्पर्कमा आएपछि डडेल्धुराका १७ जनाको अवस्था भने अझै अज्ञात रहेको छ।

CP Hospital Dhangadhi

सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिकाका ११, गन्यापधुरा गाउँपालिकाका ३, अमरगढी नगरपालिकाका २ र नवदुर्गा गाउँपालिकाका १ जना रहेका छन्। आलिताल–७ दुधेखालीका टेकबहादुर घर्ती मगरका तीन छोरा पनि बाढीपछि सम्पर्कविहीन छन्। रोजगारीका लागि रसुवा पुगेका उनीहरूको खोजीका लागि परिवारका सदस्य घटनास्थल पुगे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

त्यस्तै, आलिताल–३ कान्तिपुरका ६ जना युवा पनि करिब एक वर्षअघि रोजगारीका लागि रसुवा पुगेपछि सम्पर्कविहीन भएका छन्। बेपत्तामध्ये अमरगढीका इन्द्रबहादुर थापामगर नेपाली सेनाका सेवानिवृत्त सुवेदार, शेरबहादुर शाहु इन्जिनियर, नवदुर्गाका प्रशान्त ऐर प्राविधिक र आलितालका नवीन साउँद सर्वे इन्जिनियर रहेको बताइएको छ। गन्यापधुराका केही व्यक्ति नेपाली सेनामा कार्यरत रहेको जनाइएको छ।

nawajiwan
Attariya Hospital

बेपत्ताको खोजीका लागि डडेल्धुराबाट स्थानीय युवा, जनप्रतिनिधि र समाजसेवीहरू घटनास्थल पुगेका छन्। आलिताल–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले पीडित परिवारका सदस्यसहित घटनास्थल पुगेर खोजीमा पहल गरेका थिए।

स्थानीय जनप्रतिनिधिले संघीय तथा प्रदेश सरकारसँग बेपत्ताको खोजी, उद्धार र प्रभावित परिवारलाई राहत तथा सहयोगका लागि आग्रह गरेका छन्। परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति नै बेपत्ता भएपछि न्यून आय भएका परिवारमा जीविकोपार्जनको समस्या थपिएको स्थानीयको भनाइ छ। उनीहरूले तत्काल खोजी तथा उद्धारसँगै राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापना तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।