देशभर वर्षा थप सक्रिय हुने, गण्डकी–लुम्बिनीमा अति भारी वर्षाको सम्भावना; हिमाली क्षेत्रमा हिम आँधीको जोखिम

Image
Nisarga Hospital

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा वर्षा सक्रिय हुने जनाएको छ। महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ।

CP Hospital Dhangadhi

मधेश, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

उत्तर अण्डमान सागरमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भागमा रहेको र शक्तिशाली बन्दै डीप डिप्रेसनका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान छ। यसको प्रभावले बुधबारदेखि कोशी, बागमती र गण्डकीमा वर्षा बढ्ने बताइएको छ।

nawajiwan
Attariya Hospital

भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ। नदी तथा खोलामा पानीको सतह बढ्दा सडक, हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ।

यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातसँगै स्नो स्ट्रोमको जोखिमसमेत रहेकाले पर्वतारोही तथा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। विभागले अद्यावधिक मौसम सूचना हेर्न र आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ। साथै, धान भित्र्याउने किसानलाई कृषि विज्ञको सल्लाहअनुसार काम गर्न आग्रह गरिएको छ।