धनगढीमा राति १० बजेपछि प्रहरीको कडा निगरानी : संवेदनशील क्षेत्रमा प्रहरी परिचालन, चटकपुरको क्यान्टिन बन्द

Image
Nisarga Hospital

धनगढीः धनगढीमा पछिल्लो समय रातिको समयमा हुने गतिविधिलाई लक्षित गर्दै प्रहरीले निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दको निर्देशनमा धनगढीका अति संवेदनशील तथा संवेदनशील क्षेत्रहरूमा रातिको समयमा प्रहरी परिचालन बढाइएको हो।

CP Hospital Dhangadhi

एसपी चन्दले मातहतका प्रहरी युनिट, वडा प्रहरी कार्यालय तथा प्रहरी बिटहरूलाई रातिको समयमा हुने गतिविधिमाथि विशेष निगरानी राख्न निर्देशन दिएका छन्। सोही निर्देशनअनुसार वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा संवेदनशील क्षेत्रमा निगरानी र गस्तीलाई तीव्रता दिइएको छ।

धनगढीको चटकपुर क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा निगरानीमा राख्दै अस्पतालको आडमा सञ्चालनमा रहेको एक क्यान्टिनसमेत राति १० बजेपछि बन्द गराइएको छ। वडा प्रहरी कार्यालयको निर्देशन तथा प्रहरी निरीक्षक बलराम पाण्डेसहितको प्रहरी टोलीको सक्रियतामा उक्त क्यान्टिन राति १० बजेपछि सञ्चालन नगर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरीले विशेषगरी राति १० बजेपछि हुने अवाञ्छित तथा शंकास्पद गतिविधि, दोहोरी साँझलगायत मनोरञ्जनस्थलबाट बाहिरिने व्यक्तिहरूको गतिविधि र संवेदनशील क्षेत्रमा हुने आवतजावतलाई निगरानीमा राख्ने भएको छ।

Attariya Hospital

एसपी नरेन्द्र चन्दले सनराइज टेलिभिजनसँगको कुराकानीमा धनगढीमा रातिको समयमा हुने गतिविधिलाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्। उनले मातहतका प्रहरी युनिट र बिटहरूलाई थप सक्रिय भएर परिचालन हुन निर्देशन दिइएको बताए।

उनका अनुसार प्रहरीलाई केवल कार्यालय वा युनिटमा बसेर निगरानी गर्ने नभई रातिको समयमा फिल्डमै खटिएर संवेदनशील क्षेत्रको अवस्था बुझ्न र शंकास्पद गतिविधिमाथि तत्काल निगरानी बढाउन निर्देशन दिइएको छ। एसपी चन्दले आफू पनि रातिको समयमा गस्तीमा निस्किएर सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने गरेको बताएका छन्।

उनले घटना भएपछि मात्रै प्रहरी पुग्ने अवस्थाभन्दा घटना हुन नदिन पूर्वसावधानी अपनाउने नीति अनुसार रातिको प्रहरी परिचालन बढाइएको स्पष्ट पारेका छन्।
धनगढीका चटकपुर, चौराहा, अस्पताल क्षेत्र तथा अन्य संवेदनशील स्थानमा राति हुने गतिविधिमाथि प्रहरीले निगरानी बढाएसँगै अब राति १० बजेपछि अवाञ्छित गतिविधिमा संलग्न हुने वा संवेदनशील क्षेत्रमा शंकास्पद रूपमा देखिने व्यक्तिमाथि प्रहरीको विशेष निगरानी रहने भएको छ।

प्रहरीको पछिल्लो सक्रियताले धनगढीमा रातिको समयमा हुने सम्भावित आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई थप कडाइका साथ परिचालन गरिएको संकेत गरेको छ।