
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानी अधिकारीबीच करिब तीन घण्टा भेटवार्ता भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानसँग चाँडै सम्झौता नभए कडा कदम चाल्ने चेतावनी दिएको केही समयपछि भएको यो भेटलाई अमेरिका–इरान सम्बन्धमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले महासभाको वार्षिक भेलाका क्रममा इरानी अधिकारीहरूसँग भेट गरेका थिए। भेटवार्तामा के–के विषयमा विस्तृत छलफल भयो भन्नेबारे ट्रम्पले स्पष्ट जानकारी दिएका छैनन्। यद्यपि, उनले भेटलाई ‘एकदमै राम्रो’ भएको बताएका छन्।
ट्रम्पका अनुसार भेटमा सहभागी इरानी अधिकारी उच्च तहका थिएनन्। तर, वार्तालाई सकारात्मक रूपमा लिँदै उनले निकट भविष्यमै पुनः भेटवार्ता हुन सक्ने संकेत गरेका छन्।


अमेरिका–इरान संवादमा इरानको आणविक कार्यक्रम, सम्भावित युद्ध अन्त्य गर्ने सम्झौता तथा रणनीतिक महत्वको होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय प्रमुख चासोमा छन्। ट्रम्पले महासभामा इरानसँग सम्झौता गरी पुनर्निर्माणको बाटो रोज्ने वा थप कडा कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय लिनुपर्ने बताएका थिए।
उनले इरानलाई होर्मुज जलमार्ग खोल्न तथा वार्ताको टेबलमा फर्कनसमेत आग्रह गरेका छन्।
जुनमा भएको छोटो युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच प्रत्यक्ष संवाद लामो समय रोकिएको थियो। त्यसपछि जुलाईको सुरुतिर दुवै देशका वार्ताकारले कतार र पाकिस्तानका मध्यस्थकर्तासँग छुट्टाछुट्टै भेट गर्दै अप्रत्यक्ष संवाद अघि बढाएका थिए। पछिल्लो तीन घण्टे भेटले भने दुई देशबीच पुनः कूटनीतिक संवादको सम्भावना बढाएको संकेत गरेको छ।






























