
कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा जंगलको भिरमा मृत अवस्थामा फेला परेका छन्। बुधबार घरबाट हराएका बोहराको खोजी गर्ने क्रममा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरबाट तल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार घटनाअघि बोहरासहित ८ जना व्यक्तिले सँगै बसेर मादक पदार्थ सेवन गरेको खुलेको छ। सोही क्रममा केही व्यक्तिले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न हुनसक्ने आशंकामा नाम, थर र वतन नखुलेका ७ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी नायब उपरीक्षक हिरा सिंह महराको कमाण्डको टोलीले नियन्त्रणमा लिएको छ। टोलीमा सोको (SOCO) सहितका प्रहरी कर्मचारीसमेत सहभागी थिए।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याउँदै गरेको जनाएको छ। घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।






























