
धनगढी: नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टको जिम्मेवारी खोसिएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै उनलाई सभापतिको जिम्मेवारीबाट हटाइएको हो।

भट्टको जिम्मेवारी खोसिएसँगै जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई दिइएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २०८३ असोज ६ गते बडुवाललाई पत्र पठाउँदै जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक सभापतिको रूपमा विशेष जिम्मेवारी तोकेको जनाएको छ।

महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम बडुवाललाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ। साथै, केन्द्रीय निर्वाचन समिति तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्न भनिएको छ।

कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन २०८३ असोज ७ गते गर्ने कार्यक्रम तय गरिएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।






























