भारी वर्षाको पूर्वानुमानपछि कृष्णपुरमा हाई-अलर्ट : नगरबासीलाई उच्च सतर्कता अपनाउन नगरप्रमुख ओझाको आग्रह

Image
Nisarga Hospital

कञ्चनपुर: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष मौसमी सूचनालाई आधार मान्दै कृष्णपुर नगरपालिकाले नगरबासीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

नगर कार्यपालिकाको कार्यालय, गुलरियाले आज मिति २०८३/०६/०७ गते एक सार्वजनिक सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। भारी वर्षाका कारण बाढी, डुबान, नदी तथा खोलामा पानीको सतह बढ्ने र सडक अवरुद्ध हुने लगायतका विपद् जोखिम हुन सक्ने भएकाले सम्पूर्ण नगरबासीलाई सतर्क रहन अनुरोध गरिएको हो।

नगर प्रमुख हेमराज ओझाद्वारा जारी सन्देशमा विपद्को समयमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत भनिएको छ।

nawajiwan

विशेष सावधानी अपनाउन आग्रह गरिएका बुँदाहरु:

नगरपालिकाले जारी गरेको सूचनामा नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। जसअनुसार खोला, नदी, नाला तथा बाढी आउन सक्ने क्षेत्र नजिक नजान, अत्यावश्यक काम बाहेक भारी वर्षाको समयमा यात्रा नगर्न, बाढी आएको सडक, पुल तथा कल्भर्ट पार गर्ने प्रयास नगर्न भनिएको छ। साथै घर वरपरका नाली, पानी निकास तथा कल्भर्ट सफा राख्न, विद्युत्का तार, पोल तथा विद्युतीय उपकरणबाट सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

Attariya Hospital

यसका साथै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिको विशेष ख्याल गर्न, मोबाइल फोन चार्ज गरी तयारी अवस्थामा राख्न र स्थानीय प्रशासन तथा निकायबाट जारी हुने सूचना नियमित सुन्न पनि अनुरोध गरिएको छ।

किसानहरुलाई लक्षित गर्दै पाल्न लागेको धानलाई वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न र सम्भव भएसम्म मौसम सफा भएपछि मात्र धान काट्न पनि नगरपालिकाले अनुरोध गरेको छ। यदि धान काट्नै पर्ने अवस्था भएमा काटिएको धानलाई वर्षाबाट जोगिने सुरक्षित स्थानमा तुरुन्त थन्क्याउन पनि भनिएको छ।

आपतकालीन सम्पर्क नम्बरहरु:
नेपाल प्रहरी: १००, बाढी सम्बन्धी पूर्वसूचना टोल फ्रि: ११५५, नगर प्रमुख: ९८४८७२९१९०, नगर उपप्रमुख: ९८४४२८८८३०, प्रमुख प्रशासकीय अधिकृत: ९८५८७३२१११ लगायत सबै ९ वडाका वडाध्यक्षहरुको नम्बर सार्वजनिक गरिएको छ।