
कैलालीको मोहन्याल गाउँपालिकाले असोज ८ गतेदेखि ११ गतेसम्म सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ। पहाडी तथा चुरे भू–भागमा रहेको मोहन्यालमा वर्षाका कारण पहिरो, भू–क्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा ग्रामीण सडक अवरुद्ध हुने जोखिम रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्वारा जारी सूचनामा पहिरोको जोखिममा रहेका बस्ती, भिरपाखा तथा उर्लंदा खोला–नालाको आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ। भारी वर्षाका कारण ग्रामीण सडक हिलो र चिप्लो हुने तथा पहिरोको जोखिम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्नसमेत अनुरोध गरिएको छ।


यस्तै, किसानलाई धान तथा अन्य बाली कटानी र मिसाउने कार्य सम्भव भएसम्म स्थगित गरी मौसममा सुधार आएपछि मात्र गर्न आग्रह गरिएको छ। मेघगर्जन तथा चट्याङ परेको समयमा खुला स्थान, रुखमुनि तथा धातुका संरचनाको आसपास नबस्न गाउँपालिकाले सचेत गराएको छ।
गाउँपालिकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। कुनै विपद् वा जोखिमपूर्ण घटना भए तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा गाउँपालिकाको कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ। सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबैलाई सजग र सुरक्षित रहन गाउँपालिकाले अपिल गरेको छ।































