
देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्रमा विकसित हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले आगामी दिनमा मौसम थप सक्रिय हुने सम्भावना छ।

हाल देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। कर्णाली र सुदूरपश्चिममा पनि सामान्यतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।


यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका धेरै स्थान तथा सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मधेस तथा कोशीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज रातिसमेत कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बदली रहनेछ। यी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहँदा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित वर्षा हुनसक्नेछ। कोशी र लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






























