विद्यालय पोसाकमै विद्यार्थीलाई चुरोट–मदिरा बिक्री ! अत्तरियाका होटल–नास्ता पसललाई दुर्गालक्ष्मीको कडा आग्रह

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यालय समयमै विद्यार्थीलाई धुम्रपान तथा मदिराजन्य पदार्थ बिक्री–वितरण नगर्न होटल तथा नास्ता पसल व्यवसायीलाई आग्रह गरेको छ।

CP Hospital Dhangadhi

विद्यालयले बुधबार व्यवसायीका नाममा पत्र जारी गर्दै विद्यालय पोसाकमा रहेका आफ्ना तथा अन्य विद्यालयका विद्यार्थीलाई चुरोट, मदिरालगायतका पदार्थ बिक्री नगर्न तथा होटलमा राखेर सेवन वा कारोबार नगराउन अनुरोध गरेको हो।

प्रधानाध्यापक वीर सिंह महताद्वारा जारी पत्रमा अत्तरिया क्षेत्रका केही होटल तथा नास्ता पसलबाट विद्यालय सञ्चालन भइरहेका बेला विद्यार्थीलाई धुम्रपान तथा मदिराजन्य पदार्थ बिक्री–वितरण भइरहेको भन्दै अभिभावकबाट लिखित गुनासो प्राप्त भएको उल्लेख छ।

nawajiwan
Attariya Hospital

विद्यालयले यस्तो गतिविधि बालबालिकाको स्वास्थ्य, अनुशासन र भविष्यमा प्रतिकूल असर पार्ने भन्दै तत्काल रोक्न व्यवसायीलाई आग्रह गरेको छ। साथै, बालबालिकाको सुरक्षित र उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्न व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ।

विद्यालयले विषयको निगरानी तथा आवश्यक सहयोगका लागि इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया, उद्योग वाणिज्य संघ अत्तरिया र होटल व्यवसायी संघ अत्तरियालाई समेत पत्राचार गरेको जनाएको छ।

विद्यालयले विद्यार्थीलाई लक्षित गरी हुने यस्ता गतिविधि नियन्त्रणमा विद्यालय, अभिभावक, व्यवसायी र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ। साथै, विद्यालय पोसाकमा रहेका बालबालिकालाई धुम्रपान तथा मदिराजन्य पदार्थको पहुँचबाट टाढा राख्न सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ।