आजदेखि नयाँ एक हजारको नोट चलनमा, ‘राम–लक्ष्मण’ जुम्ल्याहा हात्तीको तस्बिर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबार असोज ८ गतेदेखि एक हजार रुपैयाँ दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिमार्जन गरी ‘सिरिज २०२५’ अन्तर्गत नयाँ नोट जारी गरिएको हो।

नयाँ नोटको मुख्य रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। यसको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ। नोटको अगाडिको मध्य भागमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत तथा तल्लो भागमा वि.सं. २०८२ अंकित गरिएको छ।

यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ट/५१ सम्म जारी गरिएको थियो। त्यसपछि ट/५२ बाट नयाँ सिरिजको नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप, १००० अंकित पानीछाप तथा प्रकाशतर्फ फर्काउँदा पूर्ण अंक देखिने सुरक्षा विशेषता राखिएको छ। दृष्टिविहीन व्यक्तिले छोएर नोट पहिचान गर्न सहज होस् भनेर दायाँ तल्लो भागमा रोमन अक्षर M राखिएको छ।

नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षा धागोसमेत प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने धागोमा NRB र 1000 अंकित छन्। अण्डाकार आकृतिभित्रको भगवतीको चित्र पनि नयाँ नोटको अर्को सुरक्षा विशेषता हो।

नोटको पछाडिपट्टि चितवनस्थित सरकारी हात्तीसारमा जन्मेका दुर्लभ जुम्ल्याहा हात्ती **‘राम’ र ‘लक्ष्मण’**को तस्बिर राखिएको छ। साथै, सात प्रदेशलाई प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँसका चित्र, हनुमानढोकास्थित लोंचोछेनको ऐतिहासिक थामको आकृति तथा 2025 A.D. सिरिज अंकित गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan