
अत्तरिया : कैलालीको अत्तरियामा निःशुल्क कपडा वितरण केन्द्र स्थापना गरिएको छ । गोदावरी नगरपालिका-४ बन्दगडामा रहेको मष्टा धामले अत्तरिया स्थित लोटस गल्लीमा निःशुल्क कपडा वितरण केन्द्र स्थापना गरेको हो ।

उक्त कपडा वितरण केन्द्रको बिहीबार एक कार्यक्रमका बिच वनदेवी मन्दिर कृष्णपुर गुलरियाका बाल ब्रह्मचारी लोमस गिरी महाराजले उद्घाटन गरेका छन् । आर्थिक रूपमा विपन्न, असहाय तथा कपडाको आवश्यकता भएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको मष्टा धाम व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष गणेश जिमि साउँदका अनुसार समाजमा प्रयोग गर्न मिल्ने तर घरमा थन्किएका कपडालाई संकलन गरी आवश्यकतामा रहेका व्यक्तिसम्म पु¥याउने उद्देश्य केन्द्रको रहेको छ । आर्थिक अभावका कारण कपडा खरिद गर्न नसक्ने परिवारलाई सहयोग पु¥याउँदै उनीहरूको दैनिक जीवनमा सहजता ल्याउने लक्ष्य राखिएको उनले बताए । केन्द्रले विशेषगरी विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका तथा असहाय व्यक्तिलाई आवश्यकताका आधारमा कपडा उपलब्ध गराउने समितिका अध्यक्ष साउँदले बताएका छन् ।


प्रयोगमा नआएका तर सफा र पुनःप्रयोग गर्न मिल्ने कपडा संकलन गरी पुनःसदुपयोगमा ल्याउने केन्द्रको महत्वपूर्ण उद्देश्य रहेको समतिका सचिव प्रकाश कुवँरले बताए । उनले यसबाट विपन्न नागरिकलाई सहयोग पुग्नुका साथै अनावश्यक रूपमा फालिने कपडाको मात्रा घटाएर वातावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताएका छन् ।
मष्टा धाम व्यवस्थापन समितिले स्थानीय बासिन्दा, सामाजिक संघसंस्था, व्यवसायी, विभिन्न संघ-संगठन तथा सहयोगी मन भएका व्यक्तिलाई आफूले प्रयोग नगरेका सफा तथा प्रयोगयोग्य कपडा उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त कपडालाई आवश्यकता र उपयोगिताका आधारमा वर्गीकरण गरी सम्बन्धित व्यक्तिलाई निःशुल्क वितरण गरिने समितिले जनाएको छ ।
आगामी दिनमा सेवा विस्तार गर्दै बढीभन्दा बढी विपन्न परिवारसम्म पुग्ने, नियमित रूपमा कपडा संकलन तथा वितरण गर्ने र सामाजिक सेवामा समुदायको सहभागिता बढाउने लक्ष्य समितिले लिएको छ ।






























