
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेकाले मौसममा थप प्रभाव परेको विभागको भनाइ छ।

आज देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग र कर्णालीका पहाडी क्षेत्रमा अधिकांश स्थानमा वर्षा हुने विभागले जनाएको छ। मधेश तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।


विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ। लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। मधेशसहित विभिन्न तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
आज राति पनि देशभर बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।






























