अत्तरियामा कुकुरको मासु बिक्रीको आशंकामा एक जना पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा कुकुरको मासु बिक्री गरेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। यसैबीच, कुकुरजस्तो देखिने जनावरको मासु पोलेर पखाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

CP Hospital Dhangadhi

अत्तरिया बसपार्क पछाडिको एक होटलबाट ६४ वर्षीय सुरेश दमाईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले जानकारी दिए।

प्रहरीका अनुसार दमाईबाट बरामद गरिएको मासु परीक्षणका लागि पठाइएको छ। प्रारम्भिक सोधपुछका क्रममा दमाईले उक्त मासु कुकुरको नभई स्यालको भएको दाबी गरेका छन्। उनले मासु बिरामीका लागि ल्याएको बताएका छन्।

nawajiwan
Attariya Hospital

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एउटा जनावरको मासु पोलेर पखाल्दै गरेको देखिन्छ। उक्त भिडियो यही घटनासँग सम्बन्धित हो वा होइन भन्नेबारे भने प्रहरीले पुष्टि गरिसकेको छैन।

बरामद गरिएको मासु कुकुर, स्याल वा अन्य कुनै जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि पठाइएको डीएसपी महराले बताए। परीक्षणको रिपोर्टपछि मात्र मासुको वास्तविक पहिचान खुल्ने प्रहरीले जनाएको छ।