
कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका ३४ वर्षीय दीपक सुनारको हत्या प्रकरणमा योजनाबद्ध घटनाक्रम बाहिर आएको छ। श्रीमान् बेपत्ता भएको भन्दै प्रहरीसमक्ष पुगेकी उनकी श्रीमती यमुना सुनार नै हत्या योजनामा जोडिएको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कैलालीमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रअनुसार गत साउन २१ गते राति अमरावतीस्थित ऐश्वर्य सामुदायिक वनको डुँडेझारी सडकखण्डमा दीपकको हत्या गरिएको थियो। घटनामा यमुनासहित उनका प्रेमी दुर्योधन सुवर्णकार, रामराजेश महतो, वीरेन्द्र राना र भीमराज राना संलग्न रहेको अभियोग लगाइएको छ। जिल्ला अदालत कैलालीले बिहीबार पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
अनुसन्धानअनुसार दीपक २०८० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएपछि यमुना र दुर्योधनबीच सम्बन्ध नजिकिएको थियो। दीपक २०८३ वैशाखमा नेपाल फर्किएपछि उक्त सम्बन्धलाई लिएर विवाद बढेको अभियोगपत्रमा उल्लेख छ। त्यसपछि दुर्योधनले दीपकलाई हत्या गर्ने योजना बनाएको र त्यसमा यमुनाको समेत सहयोग रहेको दाबी गरिएको छ।




अभियोगपत्रअनुसार सुरुमा दीपकलाई कञ्चनपुरको बेलौरी लगेर हत्या गर्ने योजना बनेको थियो। त्यसका लागि पाँच लाख रुपैयाँ मागिए पनि पछि एक लाख ६० हजारमा सहमति भएको र २० हजार रुपैयाँ अग्रिम दिइएको उल्लेख छ। दीपक कारागार गएपछि पहिलो योजना रोकिएको र उनी छुटेपछि अमरावतीको जंगलमा हत्या गर्ने नयाँ योजना बनेको बताइएको छ।
साउन १६ गते टीकापुरस्थित एक होटलमा हत्या योजनाबारे छलफल भएको र साउन २१ गते धामीकहाँ पूजाआजा गराउनुपर्ने भन्दै यमुनाले दीपकलाई अमरावतीतर्फ लगेको अभियोगपत्रमा उल्लेख छ। राति डुँडेझारी सडकखण्डमा भीमराजले स्कुटर रोकेपछि वीरेन्द्रले हथौडाले दीपकको हेल्मेटमा प्रहार गरेको दाबी गरिएको छ।
घटनापछि शव प्लास्टिकको झोलामा राखी मोटरसाइकलमार्फत करिब पाँच किलोमिटर टाढा कर्णाली नदीमा लगेर फालिएको अभियोगपत्रमा उल्लेख छ। दीपक बेपत्ता भएपछि यमुनाले भने प्रहरीसमक्ष खोजीका लागि आग्रह गरेकी थिइन्।
प्रहरीका अनुसार फोन सम्पर्क, सन्देश आदानप्रदान तथा रकम कारोबारलगायतका प्रमाण अनुसन्धानका आधार बनेका छन्। पाँचै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। अभियोगपत्रमा उल्लेखित आरोपको अन्तिम कानुनी निष्कर्ष भने प्रमाण परीक्षण र सुनुवाइपछि अदालतबाट हुने छ।



































