बुढीतोला स्वास्थ्य केन्द्र अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ‘कम्युनिटी ट्रेनिङ साइट’ बन्ने

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–स्थित बुढीतोला आधारभूत स्वास्थ्य केन्द्रलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कम्युनिटी ट्रेनिङ साइटका रूपमा प्रयोग गर्ने गरी विश्वविद्यालय र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ।

CP Hospital Dhangadhi

सम्झौताअनुसार विश्वविद्यालयका एमबीबीएसलगायत सम्बन्धित शैक्षिक कार्यक्रमका विद्यार्थीलाई फिल्ड पोस्टिङ, समुदायमा आधारित प्रशिक्षण, अध्ययन, अनुसन्धान तथा अन्य शैक्षिक गतिविधि सञ्चालनका लागि स्वास्थ्य केन्द्र उपलब्ध गराइनेछ। विद्यार्थीको फिल्ड पोस्टिङसँग सम्बन्धित यातायात, खाना, शैक्षिक सामग्रीलगायत खर्च विश्वविद्यालयले स्वीकृत बजेट तथा प्रचलित नियमअनुसार व्यहोर्नेछ।

oplus_0

विश्वविद्यालयले पाठ्यक्रम र आवश्यकताअनुसार परिवार तथा समुदाय भ्रमण, स्वास्थ्य शिक्षा र प्रवर्द्धन, मातृ तथा बाल स्वास्थ्य, किशोर स्वास्थ्य, नसर्ने तथा संक्रामक रोग नियन्त्रण, मानसिक स्वास्थ्य, विद्यालय तथा वातावरणीय स्वास्थ्यलगायत कार्यक्रम सञ्चालन गर्न सक्नेछ।

nawajiwan

सम्झौतामा नगरपालिकाले विद्यार्थीलाई समुदायमा आवश्यक सहजीकरण तथा सुरक्षाको व्यवस्था गर्ने र उपलब्धताका आधारमा आवासको व्यवस्था गर्न सहयोग गर्ने उल्लेख छ। विश्वविद्यालयमा नगरपालिकाबाट रिफर भएका बिरामीले तीन महिनाभित्र रिफर कार्डसहित सेवा लिएमा साविकको सेवा शुल्कमा २० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।

Attariya Hospital

स्वास्थ्य केन्द्र तथा समुदायबाट प्राप्त स्वास्थ्य सूचना र तथ्याङ्क प्रयोग गर्दा विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताले प्रचलित कानून, नैतिक मापदण्ड र गोपनीयताको पूर्ण पालना गर्नुपर्नेछ।

oplus_0

सम्झौतामा विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्द र गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। विश्वविद्यालयका तर्फबाट डा. विवेक दाहाल र डा. सपना घिमिरे तथा दुर्गालक्ष्मीको तर्फबाट हरिदत्त भट्टराई साक्षी रहेका छन्।

विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्न प्रस्तावित चिकित्सा तथा स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमका विद्यार्थीलाई समुदायस्तरमै व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले बुडीतोला स्वास्थ्य केन्द्रलाई प्रशिक्षणस्थलका रूपमा प्रयोग गर्न सम्झौताको प्रस्ताव गरेको थियो।