
अत्तरिया : कैलालीका युवा नेता तथा समाजसेवी लोकराज पाण्डेय ‘आगो’ले आफ्नो जन्मदिनको अवसर पारेर गोदावरी नगरपालिका क्षेत्रका चार सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन्। उनले जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गरिरहेका संस्थालाई सहयोग गरेका हुन्।

‘सबैको साथ, सबैको विकास’ तथा ‘गाँस, बास, कपास हाम्रो अभियान’ भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै पाण्डेयले सेभ हाउस अत्तरिया, दृष्टि फाउन्डेसन, सुदूरपश्चिम समावेशी आधारभूत अपाङ्ग विद्यालय र ज्येष्ठ नागरिक समाजलाई जनही १२ हजार रुपैयाँका दरले कुल ४८ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

जन्मदिनको अवसरमा गरिएको सहयोगलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने पाण्डेयले बताएका छन्। उनले आफूले जीवनभर प्रत्येक वर्ष जन्मदिनका अवसरमा स्थापित परोपकारी संस्थालाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाण्डेयले आर्थिक सहयोगसँगै आफूले विगतमा सञ्चालन गर्दै आएको सरसफाइ अभियानलाई समेत पुनः निरन्तरता दिने घोषणा गरेका छन्। आमाको निधनपछि रोकिएको सरसफाइ अभियान पुनः सञ्चालन गर्दै यसपटक गोदावरी नगरपालिका–१० स्थित एक सामुदायिक विद्यालयको शौचालय सरसफाइ गर्ने उनले बताएका छन्।
जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्दै पाण्डेयले समाजका विपन्न, असहाय तथा सहयोग आवश्यक पर्ने समुदायका लागि आफूले सक्दो योगदान गर्दै आएको बताएका छन्।
उनले आगामी दिनमा पनि सामाजिक सेवा, सरसफाइ तथा मानवीय सहयोगका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। पाण्डेयको यस पहललाई जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासका रूपमा लिइएको छ।






























