
धनगढी: निसर्ग इन्डो–नेपाल जुगेडा कप–२०८३ भलिबल प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । प्रतियोगिताको सफल आयोजना तथा व्यवस्थापनका लागि संयुक्त राना जनचेतना परिवारले सुरज रानालाई मुख्य संयोजकको जिम्मेवारी दिएको छ भने दिपेन्द्र प्रसाद भट्टलाई मुख्य रेफ्री संयोजक नियुक्त गरेको छ।

आयोजक संस्थाका अध्यक्ष रवि रानाले दुवैलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गर्दै प्रतियोगिताको जिम्मेवारी दिएका हुन्।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको अनुभवका र जुगेडा कप – २०८२ को संस्करणमा समेत मुख्य संयोजकको भूमिका निर्वाह गरिसकेका कारण सुरज रानालाई मुख्य संयोजकको जिम्मेवारी दिइएको आयोजकले जनाएको छ। राना विगत वर्षदेखि जुगेडा कपको आयोजना, व्यवस्थापन तथा समन्वयमा निरन्तर सक्रिय रहँदै आएका छन्।

जुगेडा कपसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको कार्यक्रम सञ्चालन, समन्वय र व्यवस्थापनमा समेत अनुभव हासिल गरेका राना पत्रकार तथा कार्यक्रम प्रस्तोताका रूपमा पनि परिचित छन् । स्थानीयस्तरमा खेलकुद र सांस्कृतिक गतिविधिलाई जोडेर कार्यक्रम सञ्चालनमा समन्वय गर्दै आएका रानाले जुगेडा कपको निरन्तरताका लागि विगतका वर्षदेखि व्यवस्थापन तथा सञ्चालनमा सहयोग गर्दै आएको आयोजक पक्षले जनाएको छ।

रानालाई मुख्य संयोजकको जिम्मेवारी दिँदै प्रतियोगिताको सफल आयोजना तथा सञ्चालनसँगै आर्थिक व्यवस्थापन, आवश्यक समन्वय र समग्र व्यवस्थापकीय जिम्मेवारीसमेत प्रदान गरिएको छ। आयोजकले रानाको अनुभव, सक्रियता र प्रतिबद्धताले प्रतियोगितालाई थप व्यवस्थित, प्रतिष्ठित र सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
त्यस्तै प्रतियोगिताको खेल सञ्चालन तथा प्राविधिक पक्षलाई व्यवस्थित बनाउन दिपेन्द्र प्रसाद भट्टलाई मुख्य रेफ्री संयोजकको जिम्मेवारी दिइएको छ।
भट्टले प्रतियोगितामा रेफ्री व्यवस्थापन, खेल सञ्चालनसँग सम्बन्धित प्राविधिक समन्वय तथा आवश्यक खेल व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। आयोजकले उनको अनुभव र प्रतिबद्धताबाट प्रतियोगितालाई मर्यादित तथा व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
संयुक्त राना जनचेतना परिवारको आयोजनामा असोज २० गतेदेखि २४ गतेसम्म धनगढी उपमहानगरपालिका–१० जुगेडामा निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८३ भलिबल प्रतियोगिता आयोजना हुँदैछ।
खेलाडीको व्यवसायीकरणसँगै खेल पर्यटनको विकास तथा प्रवर्द्धन, नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने तथा स्थानीय कला–संस्कृति र खेलकुदलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। मुख्य संयोजक सुरज राना र मुख्य रेफ्री संयोजक दिपेन्द्र प्रसाद भट्टको औपचारिक नियुक्तिसँगै जुगेडा कप–२०८३ को तयारीले थप गति लिएको छ।






























