
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानले अमेरिकासमक्ष रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार आवश्यक सर्त पूरा भएमा जलमार्गमा सामान्य समुद्री आवतजावत सात दिनभित्र पुनः सुरु गर्न सकिनेछ। प्रस्ताव कतारमार्फत अमेरिकी पक्षसमक्ष पठाइएको उनले बताएका छन्।

अराघचीका अनुसार अमेरिकाले पूरा गर्नुपर्ने सर्तहरू नयाँ नभई जुनमा भएको समझदारी पत्र (एमओयू) मै उल्लेख गरिएका विषय हुन्। प्रस्तावअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेलमाथिका प्रतिबन्ध खुकुलो पार्ने तथा युद्धविराम कायम गर्ने विषय समेटिएका छन्। त्यसपछि होर्मुज पुनः खोल्ने र आणविक कार्यक्रमसम्बन्धी वार्ता अघि बढाउने योजना छ।
अमेरिकी अधिकारीहरूले भने मध्यस्थकर्तामार्फत इरानसँग आणविकलगायत विषयमा सकारात्मक र रचनात्मक छलफल भइरहेको बताएका छन्। अमेरिकी पक्षले आफू रणनीतिक रूपमा बलियो अवस्थामा रहेको जनाउँदै तत्काल सम्झौता गर्न हतार नगरेको संकेत दिएको छ।


विश्वको महत्वपूर्ण ऊर्जा पारवहन मार्गमध्ये एक स्ट्रेट अफ होर्मुज बन्द हुँदा तेल तथा ग्यासको अन्तर्राष्ट्रिय आपूर्तिमा असर परेको छ। इरान र अमेरिकाबीचको तनावसँगै यस क्षेत्रको समुद्री आवतजावतमा समेत ठूलो कमी आएको छ। पछिल्लो समय दुवै पक्षबीच मध्यस्थकर्तामार्फत वार्ता अघि बढाउने प्रयास भइरहेको छ।
अराघचीले दबाब वा धम्की स्वीकार नगर्ने स्पष्ट पार्दै सम्झौताका लागि अमेरिकी पक्षले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। उनले प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय अब अमेरिकाको हातमा रहेको बताएका छन्। प्रस्ताव कार्यान्वयन भएमा होर्मुज जलमार्ग खुल्नुका साथै अमेरिका–इरान आणविक वार्ता पुनः सुरु हुने बाटो खुल्नेछ।






























