
कैलाली: कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडामा घाँस काट्न गएकी एक महिला रुखबाट लडेर मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार स्थानीय ४० वर्षीया पार्वती साउद मंगलबार (असोज १० गते) बिहान बारवन सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी बुधबार बिहान करिब ९ बजे रुखबाट लडेर मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे गौरीगंगा–६ का वडा अध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा चौमालाबाट ४ जना र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा ५ जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले जानकारी दिए।































