
बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ परेकी महिला धरौटीमा छुटेकी छन्। जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई जिल्ला प्रशासन कार्यालय बझाङले धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ।

रोकायाले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदै गएपछि घटनाको चौतर्फी विरोधसमेत भएको थियो।

प्रहरीका अनुसार रोकायाले आफूले घरमा पालेको कुकुर बिरामी भएर मानिसलाई टोक्न थालेपछि बाध्य भएर नदीमा फालेको बयान दिएकी छन्। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। स्थानीय तथा पशु अधिकारसँग सम्बन्धित व्यक्तिहरूले भने घरेलु जनावरप्रति अमानवीय व्यवहार नगर्न र समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेका छन्।































