
भोटेकोशी बाढी आएको एक महिनापछि पनि ५ हजार २८५ जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १ हजार ४५१ जनाको शव भेटिएको छ भने उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटका १८७, रसुवाका ८०५ र धादिङका १२१ गरी १ हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

बाढीमा बेपत्ता भएकाहरूको पहिचान तथा खोजीका लागि हालसम्म २ हजार ६० जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार अझै जारी रहेको प्राधिकरणले जनाएको छ।

यस्तै, सुरक्षा निकायमार्फत हालसम्म १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। ठूलो मानवीय क्षति भएको घटनापछि बेपत्ताको खोजी, शव पहिचान, उद्धार तथा प्रभावितको व्यवस्थापनलाई सरकारले निरन्तरता दिइरहेको छ। बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणको कामसमेत चुनौतीपूर्ण बनेको छ।






























